राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग २०८४ सालको निर्वाचनमा एउटै क्षेत्रबाट चुनाव लड्न चुनौती दिएका छन्।
शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनमा उनले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन घोषणा गर्न र सोही निर्वाचनमा आफू उनीसँगै लड्न तयार रहेको बताएका हुन्।
२०७९ सालको संसदीय निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरी विजय भएका थिए।
गएकोृ चुनावमा नेकपा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको थियो । एमालेले झापा क्षेत्र नम्बर ३ मा लिङ्देनलाई समर्थन गरेको थियो। यस पटक भने उनले प्रधानमन्त्री ओलीको गृहजिल्लामै पुगेर चुनौती दिएका छन्।
ओली २०७४ र २०७९ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ निर्वाचित भएका हुन् । लिङ्देनले आफू झापा ५ बाट चुनाव लड्न सक्ने संकेत गर्दै ओलीको चुनौती स्वीकार्न तयार रहेको बताए।
उनले ‘अस्ति प्रधानमन्त्रीजीले राजेन्द्र लिङ्देन झापामा कहाँबाट चुनाव लड्दोरहेछ भनेर भन्नुभएछ। जनताले चाहेको खण्डमा झापा ५ टाढा छैन। त्यहीँबाट लड्न सक्छु ।’
राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।




