पोखरा १७ को तीजगीत प्रतियोगितामा नारी शक्ति पहिलो

पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले हरितालिका तीजको अवसरमा तीजगीत प्रतियोगिता गरेको छ ।

शुक्रबार भएको प्रतियोगितामा नारी शक्ति आमा समूह पहिलो भएको छ । प्रतियोगितामा जनजागरण आमा समूह दोस्रो, सिद्धार्थ नमुना आमा समूह तेस्रो र शीतल चौतारी आमा समूह प्रोत्साहन ठहरिए । प्रतियोगितामा १२ समूह सहभागी थिए । प्रतियोगितामा पहिलोलाई १५ हजार रुपियाँ, दोस्रो १० हजार, तेस्रोलाई ७ हजार रुपियाँ, प्रोत्साहन पुरस्कार ४ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट भेषभूषा र नृत्यलाई ३–३ हजार रुपियाँ र सहभागी सबै समूहलाई प्रमाणपत्रसहित १÷१ हजार रुपियाँ प्रदान गरिएको थियो । उत्कृष्ट भेषभूषामा तल्लो विरौटा आमा समूह र उत्कृष्ट नृत्यतर्फ मेलमिलाप आमा समूह उत्कृष्ट बनेका छन् ।

प्रतियोगिताका निर्णायकमा शान्ति गुरुङ, बालु पुन, करण लामा र दिलीप गायक थिए । वडा कार्यालयले ‘उद्यमशीलता विकास तथा नेतृत्वमा महिला सहभागिता’ विषयक मौलिक तीजगीत प्रतियोगिता तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले तीजलाई परम्परागत मौलिक गीतमार्फत पुनर्जीवित गर्नुपर्ने बताइन् । उनले संस्कार, संस्कृति र परम्परा संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

वडाध्यक्ष राधिका शाही योगीले महिला सशक्तीकरणसँगै संस्कृति संरक्षणका लागि कार्यक्रम गरिएको बताइन् । उनले भनिन्, ‘हामी जनतालाई सबै तवरले घर घरको सिंहदरबार बनाउन लागिपरेका छौं । त्यसै अन्तर्गत तीजगीत प्रतियोगिता गर्दै आएका छौँ ।’

कार्यक्रममा वडा सदस्य शिवराम भण्डारी, तारा परियार, विष्णुकुमारी थापा र बिक्रम गुरुङ, वडा सचिव सुरेन्द्रप्रसाद शर्मा, पत्रकार सुष्मा पौडेल, गायक पुरुषोत्तम न्यौपाने, समाजसेवी उर्मिला खड्का, बिना लोहनी, रीता सुवेदी, उत्तम सिग्देल, बैकुण्ठ भण्डारी, प्रवित्रा रेग्मी, राधादेवी लम्साल, प्रभा खत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा लेबेनी गार्डेन मन्टेसरीका बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।