प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता एमालेले नखोसेको स्पष्ट पारेका छन् । भण्डारीले राष्ट्रपति पदमा निर्वाचित हुने क्रममा आफैंले २०७२ कात्तिक १२ गते सदस्यता परित्याग गरेको र त्यसयता नवीकरण वा पुनः प्रवेशको कुनै प्रक्रिया नभएकाले अहिले सदस्यता नभएको उनको भनाइ छ ।
उनले टेलिभिजनले सदस्यता नदिने जनाउँदै त्यसका लागि भण्डारीले कुनै छलफल, आवेदन पनि नदिएको बताए ।
पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “राष्ट्रपति बन्नुभएको बेला सदस्यता त्याग्नुभएको हो । फर्केर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर सदस्यता लिन सकिँदैन । त्यसरी नवीकरण हुँदैन,” उनले अझै थपे, “यदि पार्टी सदस्यता नै प्रिय थियो भने राष्ट्रपति हुन नजानुहुन्थ्यो । अहिले आएर नभएको सदस्यता नवीकरण खोज्नुहुन्छ, त्यो सम्भव हुँदैन ।”
यस क्रममा उनले भण्डारीले हालै थापागाउँमा सम्पर्क कार्यालय खोलेकोप्रति आक्रोशसमेत व्यक्त गरे ।
मदन भण्डारीको अर्को वर्ष मनाइने जन्मदिनका लागि अहिलेदेखि नै सम्पर्क कार्यालय खोल्नु पर्ने कारण नरहेको भन्दै ओलीले प्रश्न गरे, “अर्को वर्षको जन्मदिन मनाउन अहिले कार्यालय खोल्नुपर्ने हो ?”
उक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहित अन्य नेताहरू सहभागी भएका थिए ।




