तीजगीतमा पोख्रेली दिदीबहिनी प्रथम

पोखरा ५ पस्र्याङमा रहेको जनहित महिला समूहको आयोजनामा तथा धारापानी महिला बहुउद्देश्यीय सहकारीको सहआयोजनामा प्रथम जनहित खुला तीजगीत प्रतियोगिता भएको छ । प्रतियोगितामा पोख्रेली दिदीबहिनी समूह पहिलो हुँदै १० हजार र प्रमाणपत्र जितेको छ ।

धारापानी आमा समूहले दोस्रो भई ७ हजार, शिवालय महिला समूह तेस्रो भई ५ हजार तथा धर्मस्थली आभारभूत विद्यालयले सान्त्वना भई ३ हजार पाएका छन् । उत्कृष्ट भेषभूषातर्फ गतिशील महिला आमा समूह र उत्कृष्ट नृत्यतर्फ नमुना आदर्श आमा समूह उत्कृष्ट बने । प्रतियोगितामा १६ टिम सहभागी थिए ।

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष रामचन्द्र ढकाल, उपाध्यक्ष राम पौडेल र लोकगायिका/सञ्चारकर्मी सीता बरालले प्रतियोगितामा निर्णायक थिए । कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले यस्ता कार्यक्रमले हाम्रो कला, संस्कृति बचाउँदै भाबी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय भड्किलो तीज देखिन लागेको भन्दै परम्परागत मौलिकता र चेतनामूलक गीतमार्फत समाजलाई सन्देश दिनुपर्नेमा जोड दिए ।

जनहित महिला समूहका अध्यक्ष चन्द्रावती गैरे अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमला लामिछाने, महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य गोविन्द पराजुली, सावित्री कोइराला, हेमराज भण्डारी लगायतले बोलेका थिए ।