म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा सोमबार २ मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी ५ जना घाइते भएका छन् ।
रघुगंगा ५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा २ मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
‘घटनास्थलमा प्रहरीको टोली पुग्दै छ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन्,’ उनले भने, ‘मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।’




