विद्यार्थीलाई इन्टर्नसिप र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज(एनटिएचएमसी) र नेपाली युवा उद्यमी मञ्च पोखरा बीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरामा भएको उक्त सम्झौताले शैक्षिक संस्था र व्यावसायिक क्षेत्रबीच सहकार्य गरी पर्यटन तथा आतिथ्य क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने लक्ष्य राखेको छ ।
कलेजका प्राचार्य प्रकाश रेग्मीले शैक्षिक र उद्यमशीलता क्षेत्रबीचको दूरी घटाएर व्यवहारिक ज्ञान र व्यवसायिक अवसरलाई एकीकृत गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सम्झौता अनुसार विद्यार्थीका लागि इन्टर्नसिप र रोजगारीका अवसर सिर्जना गर्ने, उद्योग भ्रमण, कार्यशाला, अतिथि व्याख्यान तथा ज्ञानमूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै, स्रोत र अनुभवको साझा प्रयोगबाट शैक्षिक गुणस्तर बढाउने सहमति भएको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष समेज राजभण्डारीले साझेदारीले पर्यटन तथा आतिथ्य सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउने बताए । उनले व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्न रोजगार मेला आयोजना गरिने जानकारी दिँदै नवप्रवर्तन र युवा सशक्तिकरणप्रति मञ्च प्रतिबद्ध रहेको स्पष्ट पारे ।
शैक्षिक संस्था र उद्यमशीलता बीचको खाडल पुर्दै युवालाई उद्यमशील सोच र व्यवहारिक सीपमा सशक्त बनाउन यो सम्झौताले दीर्घकालीन योगदान पु¥याउने विश्वास दुवै पक्षले लिएका छन् । आपसी विश्वास र पारदर्शी सहकार्यमा आधारित यो साझेदारी भविष्यका लागि प्रेरणादायी बन्नेमा उनीहरू आशावादी छन् ।




