सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवार पोखरा आइपुगेको छ । उर्मिला हायूसहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका हुन् ।
उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।
घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले जानकारी दिएका छन् । हायूको जङ्गलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्साघर जलेको छ । घर पालुवा पशुपन्छी भोकले कराइरहेका छन् । नपकाएको मासु गन्हाएको छ । १८ जनाले भरिएको त्यो घर अहिले शून्य छ ।
उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो । धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन हँुदा जिल्लावासी नै चकित भएका थिए । श्रीमान् बितेपछि ५२ वर्षीया उर्मिला हायू (आमा) को छत्रछायाँमा परिवार चलेको थियो ।
उर्मिलासहित २७ वर्षीया कमला हायू (छोरी), २३ वर्षीया कोमल माया हायू (बुहारी), २२ वर्षीया उषा हायू (छोरी), १९ वर्षीया सुजता हायू (छोरी), १८ वर्षीया अस्मिता हायू (छोरी) १२ वर्षीया बालिका शान्ता हायू (छोरी) सम्पर्कविहीन छन् । यस्तै, २९ वर्षीय राजु हायू (छोरा), २४ वर्षीय हिमाल हायू (छोरा), १६ वर्षीय लालबहादुर हायू (छोरा), १४ वर्षीय बेगबहादुर हायू (छोरा), ११ वर्षीय लक्की हायू (छोरा), १२ वर्षीय सुवर्ण हायू (छोरा), १० वर्षीया ओमकुमारी हायू (छोरी), वर्ष एकको अर्जुन हायू (नाति) र चार वर्षीया रियासा हायू (नातिनी) लगायतल पोखरा आएका छन् ।

यही साउन ५ गते परिवारका १६ जनाले खुर्कोटमा रहेको हिमालयन बैंकबाट तीन महिनाको सामाजिक सुरक्षा भत्ता बुझेका थिए । लोपोन्मुख जाति भएकाले सरकारले प्रतिव्यक्ति मासिक तीन हजार ९९० का दरले भक्ता उपलब्ध गराउँदै आएको छ ।
वडाध्यक्ष रवीन श्रेष्ठसहित प्रहरी टोली घटनास्थल पुगेको थियो । “घटनाको प्रकृति हेर्दा सबै मिलेर योजना बनाएर हिँडेझैँ लाग्छ, तर, कहाँ गएका ? के उद्देश्यले गएका ? यकिन छैन”, वडाध्यक्ष श्रेष्ठले भने ।
हायू जाति नेपाल सरकारद्वारा लोपोन्मुख आदिवासी जनजातिको सूचीमा सूचीकृत छ । २०७८ को जनगणनाअनुसार यो जातिको जनसङ्ख्या तीन हजार ६९ मात्र छ ।




