गण्डकी प्रदेशमा गत पुसयता ६ सय ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत जेठमा १ सय ६९ जनामा डेंगी संक्रमण देखिएकोमा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३ सय ७, तनहुँमा १ सय १, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा ४ जनामा संक्रण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म मुस्ताङ र मनाङमा भने डेंगीका बिरामी भेटिएका छैनन् । कास्कीमा संक्रमण पुष्टि भएका ३ सय सातमध्ये १ सय ३ जना पोखरा महानगरपालिकाका छन् । प्रदेशभरमा हालसम्म पुष्टि भएका डेंगीका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन् ।
साउनदेखि कात्तिकसम्म डेंगी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रणको दर बढ्दै जाने जनाइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगी संक्रमण न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताए ।
गत वर्ष प्रदेश राजनधानी पोखरा डेंगीको ‘हटस्पट’ बनेकाले यस वर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उनको भनाइ छ । पोखरा महानगरसहित प्रदेशका स्थानीय तहहरूले समुदाय स्तरमा डेंगी फैलनबाट रोक्न डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन् । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको छ ।
गत वर्ष पोखरा महानगरपालिकामा मात्र ८ हजार ६ सय जनाभन्दा बढीमा डेंगी सङ्क्रमण भएको थियो । डेंगी सङ्क्रमणबाट पोखराका ३ जनाको मृत्यु भएको थियो । गत वर्षको भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा ६ गुणाले डेङ्गी संक्रण बढेको थियो । लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि सुरु गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनीहरूको भनाइ छ । डेंगी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत स्थानमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीले बताए ।
डेंगी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको उनको भनाइ छ । ‘सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो’, उनले भने ।
संक्रमितले तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक तिवारीको भनाइ छ । डेंगीको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्ने जस्ता लक्षण देखा पर्ने गर्छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेंगीलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय हो । रासस




