पोखरा महानगरपालिका वडा नं १४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा फेला परेको नवजात शिशुको शव प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
२०८१ असोज १३ गते साँझ करिब सवा ५ बजे जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो, गुलाबी रंगको ब्लाङ्केटले ढाकिएको अवस्थामा नवजात छोरा शिशुको शव फेला परेको थियो। सूचना प्राप्त भएपछि तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी टोली घटनास्थल पुगेको थियो।
शवलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा पोष्टमार्टम गराइएको थियो। रिपोर्ट अनुसार, नवजात शिशुको टाउको र घाँटीमा गम्भीर चोट लागेको पाइएकाले त्यसकै कारण मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले नवजात शिशुको कर्तव्य गरी हत्या गरिएको देखिएकोले कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको हो।
अनुसन्धानका क्रममा नवजात शिशुको बुवा नुवाकोट, बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं। ९, नागढुङ्गामा बसोबास गर्दै आएका ३७ वर्षीय गोविन्द लामिछानेलाई सुत्केरी बेथाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको बेला, २०८२ साउन ४ गते प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि कर्तव्य ज्यानसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिप्रका कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।




