नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नीति अनुरुप कास्कीमा पार्टीसहित नेता, कार्यकर्ताले उत्पादन अभियान थालेका छन् ।
नेकपा कास्कीले पोखरा–३०, शिशुवामा ७ रोपनी जमिन भाडामा लिएर पोखरेली जेठोबुढो रोपेको छ । यहाँ असार २५ गते रोपाइँ भएको हो । पोखरा १४ को छिनेडाँडामा दुई रोपनीमा असार ३० गते धान रोपिएको छ । यसरी नेकपा कास्कीले यसपालि ९ रोपनीमा धानखेती गरेको हो ।
नेकपा कास्की सेक्रेटरी उमेश सी पार्टीलाई आत्मनिर्भर बनाउन र देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन उत्पादन अभियान चलाएको बताउँछन् । ‘पार्टीका कार्यक्रम गर्न यथासक्य चन्दा नमाग्ने नीति छ,’ उनले भने, ‘देशमै केही गर्न सकिन्छ भन्ने सन्देश जनतामा यसले दिन्छ । नेता, कार्यकर्तालाई जनतासँग जोड्न पनि अभियानले सघाएको छ ।’
आगामी वर्षदेखि पार्टी निकट सबै जनवर्गीय संगठनलाई उत्पादनमा लगाइने उनले जनाए । नेकपाका नेता, कार्यकर्ताले आफ्नो उपभोगका लागि आफैं उत्पादन गर्ने अभियानसमेत थालेका छन् । जिल्ला सेक्रेटरी उमेश सीसहित महानगर सेक्रेटरी सोममाया सी र जिल्ला सदस्य मनमाया सीले पोखरा ३२ राजाको चौतारामा ६ रोपनीमा धान खेती थालेका छन् ।
नेकपा कास्की इन्चार्ज आस्था सीको नेतृत्वमा पोखरा १४ भोटेचौतारा नजिकै शिवमार्गमा ८ रोपनीमा पोखरेली जेठोबुढो धान लगाइएको छ । केन्द्रीय सदस्य उभार सी, नेकपा कास्की सदस्य कमल सी, प्रेम सी र तुलसा सीले संयुक्त रुपमा यहाँ खेती थालेका हुन् । गुँदेताल नजिक मजदूर नेतृ गौमती सीको अगुवाईमा छ रोपनीमा धान खेती गरिएको छ ।
नेकपा कास्की इन्चार्ज आस्था सीले श्रम संस्कृतिको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन अभियान चलाइएको जनाइन् । उनले भनिनन्, ‘समय, श्रम र उत्पादनलाई जोडेर आत्मनिर्भर अर्थतन्त्र बनाउने लक्ष्य हो । यसलाई न्यु इकोनमी ट्रयाक भनेका छौँ ।’ कतै पार्टी त कतै संयुक्त स्वामित्वमा थालिएका उत्पादन अभियानलाई धेरैले रुचाएको र देशको आवश्यकता भएकाले यसलाई बढाउँदै लगिने उनको भनाइ छ ।
नेकपा कास्कीले गत वर्ष पोखरा–२६, मुलपानीमा धान खेती गरेको थियो भने पेखरा–१४, छिनेडाँडामा सयपत्री फूल खेती लगाएको थियो । छिनेडाँडामै गरिएको आलु खेतीबाट उब्जिएको आलु र धान सहिद र बेपत्ता परिवारलाई वितरण गरिएको थियो ।




