काभ्रेपलाञ्चोक, ५ साउन – विवाह प्रस्ताव अस्वीकार गरेपछि काभ्रेपलाञ्चोकमा एक युवतीको हत्या गरिएको छ। रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारले प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। काभ्रेको चौरीदेउराली गाउँपालिका–१ की स्थायी बासिन्दा र हाल बनेपा नगरपालिका–९ नयाँबस्ती बस्दै आएकी ३३ वर्षीया शर्मिलासँग सन्तोष दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए।
प्रहरीका अनुसार सन्तोषले पटकपटक विवाह प्रस्ताव गर्दा शर्मिलाले अस्वीकार गरेकी थिइन्। त्यसपछि रिसको झोकमा सन्तोषले योजनाबद्धरूपमा शर्मिलाको हत्या गरेका हुन्। असार ३२ गते शर्मिलालाई घुम्न जाने भन्दै बनेपा–१३ स्थित भगवान् थुम्की सामुदायिक वनमा लगेका सन्तोषले पहिला दाउराले प्रहार गरी बेहोस बनाएपछि सलले घाँटी कसी हत्या गरेका थिए।
हत्या गरी घटनास्थलमा केही समय बसेर भागेका सन्तोषलाई प्रहरीले बनेपा–१० स्थित इँटाभट्टाबाट आइतबार साँझ पक्राउ गरेको हो।
मृतक शर्मिलाको पहिलाका दुई श्रीमानबाट १६ र ९ वर्षका दुई छोरी छन्। उनी पछिल्लो समय एक्लै बस्दै आएकी थिइन्। अभियुक्तमाथि काभ्रे जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




