
ढिकूरपोखरी समाज पोखराको आयोजनामा तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा ‘सकारात्मक सोच तथा क्षमता विकास’ विषयक कार्यक्रम भएको छ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सकारात्मक सोचले व्यक्तिको जीवनमा ऊर्जा सिर्जना गर्ने र यसले नै व्यक्तिलाई सफलतामा पु(याउने उल्लेख गरे । सकारात्मक सोचको अभावका कारण आजको समाज विभाजन, विखण्डन र कुलततर्फ आकर्षित भएको भन्दै उहाँले जीवनमा सकारात्मक सोच आवश्यक रहेकोमा जोड दिए । .
ढिकूरपोखरी समाज पोखरा अध्यक्ष लक्ष्मी अधिकारीले सकारात्मक सोचले व्यक्तिको क्षमता विकास हुने र क्षमता विकास भएमा आत्मनिर्भर बन्न सकिने बताइन् । हरेक परिवारका महिलाले क्षमता विकास गरी आत्मनिर्भर हुन सके पारिवारिक तथा सामाजिक जीवन थप सुन्दर र समृद्ध हुने कुरामा उनले जोड दिइन् ।
कार्यक्रमका सहजकर्ता पत्रकार दीपेन्द्र श्रेष्ठले सोचजस्तो दृष्टि पनि त्यस्तै हुने बताउँदै वस्तु जस्तो छ, त्यस्तो देखिँदैन, जस्तो सोचिन्छ त्यस्तो देखिन्छ भन्दै जीवनमा सधैं सकारात्मक सोच राख्नुपर्ने सुझाव दिए ।
साविक ढिकूरपोखरी घर भई पोखरा बस्दै आएका महिलालाई लक्षित गरी सञ्चालित उक्त कार्यक्रममा ७० जनाको उपस्थिति थियो। कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देवकोटा अधिकारी, ढिकूरपोखरी समाज पोखराका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, पूर्वअध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष सोमनाथ पौडेल, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेल, ढिकूरपोखरी समाज पोखराका अक्षयकोष संरक्षक कूल बहादुर गुरुङ, सल्लाहकार मनपती अधिकारी, उपाध्यक्ष लोकनाथ भण्डारी र सचिव गणेश अधिकारीले बोलेका थिए ।