
पढ्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरणीय बनेकी गोमा पराजुलीले आफू अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् ।
पोखरा १७, तल्लो विरुवा निवासी उनले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत जेहेनदार एवं विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन् ।
गोमा फाउन्डेसनकी अध्यक्षसमेत रहेकी पराजुलीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समिति सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी र प्रधानाध्यापक अर्जुन कँडेललाई हस्तान्तरण गरिन् ।
पारजुलीले ५३ वर्षको उमेरमा कक्षा १ मा भर्ना भई जानकीमा सात कक्षासम्म अध्ययन गरेकी थिइन् । पराजुलीले आफ्नो अनुभवलाई समेटेर ‘भीरको बाटो’ नामको आत्मसंस्मरणात्मक पुस्तकसमेत प्रकाशन गरेकी छन् । सो अवसरमा उनले विभिन्न कक्षाका ७५ विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिन् ।
विद्यालयका अनुसार पछिल्लो तीन महिनामा नगेन्द्र शर्मा भण्डारीले छोरा एलेक्स शर्मा भण्डारीको नाममा ५५ हजार ५ सय ५५ रुपैयाँ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहृद भण्डारीको जन्मदिनमा २१ हजार २ सय २१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालय सञ्चालनार्थ विभिन्न संघ, संस्था र शिक्षाप्रेमीबाट हालसम्म १० लाखभन्दा बढीको अक्षयकोष स्थापना भइसकेको छ । उक्त कोषको ब्याजबाट प्राप्त रकम प्रत्येक वर्ष जेहेनदार तथा विपन्न विद्यार्थीलाई वितरण गर्ने गरिएको छ ।