पोखरा १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविका सुरज भुजेलले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार जिपिए ल्याएका छन् । रेन्बोले सोमबार विद्यालयमा कार्यक्रम गरी एसइई उत्तीर्ण भुजेलसहितका ८९ विद्यार्थीलाई सम्मान गरेको छ ।
कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले सुरजको सफलता गौरव गर्न लायक भएको बताए । विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकको निरन्तर प्रयास र समर्पणकै कारण उत्कृष्ट नतिजा प्राप्त हुने उनको भनाइ छ ।
प्रिन्सिपल बाबुराम बरालले भुजेलसहित एसइईमा सहभागी ८९ जनाले नै उत्कृष्ट नतिजासहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । उनले सुरजलाई विद्यालयको तर्फबाट सम्मान गर्दै १ लाख रुपैयाँ दिने घोषणा गरे । विद्यार्थीले उत्कृष्ट नजिता हाँसिल गर्नुमा विद्यार्थीसँगै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको मेहनत कारक रहेको प्राचार्य बरालले बताए ।
एसइईमा रिवा शेरपुञ्जा ३.९७, सुमित विक, सुमित पूर्जा र अम्रत्य खड्काले ३.९६, निशान गुरुङ ३.९५, अनुयायी परियार ३.९३ मल्लिका मल्ल र सरल रानाले ३.९२ जिपिए प्राप्त गरेका छन् । रेन्बो एकेडेमिक होम्सका विद्यार्थी २०६० देखि एसएलसी एवं एसइईमा सहभागी हुँदै आएका छन् ।
विद्यार्थीहरुलाई विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्राचार्य बाबुराम बराल, संस्थापकद्वय खेमनारायण ढकाल र कृष्णप्रसाद ढकालले बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरे ।
२०५२ सालमा स्थापित यो विद्यालयमा अहिले एक हजार पाँच सय विद्यार्थी छन् । यहाँ कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाइ हुन्छ ।






