
नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नीति अनुसार कास्कीमा एकीकृत उत्पादन थालिएको छ ।
आज असार १५ गते अर्थात् धान दिवसको दिनबाट नेकपाको केन्द्रीय नीतिअनुसार कास्की जिल्लामा एकीकृत उत्पादन थालिएको हो । पोखरा ३२ राजा चौतारामा कास्की जिल्ला सेक्रेटरी उमेश सी, पोखरा महानगरपालिका सेक्रेटरी सोममाया सी र जिल्ला सदस्य मनमाया सीको खेतमा रोपाइँ गरिएको हो ।
रोपाइँमा नेकपा कास्की जिल्ला इन्चार्ज आस्था सी पनि सहभागी थिइन् । नेकपा कास्की सेक्रेटरी उमेश सीले पार्टीको नीति अनुसार खेती थालिएको बताए । उनले भने, पार्टीको नीति अनुसार करिब सात रोपनीमा रोपाइँ गरिएको छ । यसलाई अब बढाउँदै लगिनेछ ।
आगामी असार २० गते नेकपा कास्कीले पोखरा महानगरकामा दुई स्थानमा गरी ९ रोपनीमा धान खेती गर्ने भएको छ । कास्की जिल्ला इन्चार्ज आस्था सीको नेतृत्वमा पोखरा १४ को आठ रोपनीमा पनि धान खेती गरिँदै छ ।