अल्फा बाल क्लबमा बाल कवितासंग्रह ‘साइकल’को चर्चा

अल्फा एकेडेमी, कालिकाचोकमा रहेको अल्फा बाल क्लबले पुस्तक परिचर्चा कार्यक्रम आयोजना गरेको छ । क्लबले विद्यार्थीहरूमा पठन संस्कृति विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरेको हो । क्लबको पहिलो पुस्तक परिचर्चा कार्यक्रमका रूपमा साहित्यकार सुरज उपाध्यायद्वारा लिखित ‘साइकल’ कविता संग्रहमाथि परिचर्चा गरियो ।

कार्यक्रममा कक्षा दशका छात्र विश्वास ढकाल, कक्षा दशकै छात्रा दिया बास्तोला र कक्षा आठका छात्र समीर सुनारले उक्त कविता संगञ्हमाथि आफ्ना पाठकीय प्रतिक्रिया प्रस्तुत गरे । उनीहरूले संग्रहभित्रका कविताहरूमा बालबालिकाको मन छुने भाव रहेको विचार व्यक्त गरे । प्रकृति, खेल र प्रविधिको प्रयोगजस्ता विषय समेटिएका कविताले धेरै कुरा सिक्न प्रेरित गरेको उनीहरूले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै साहित्यकार सुरज उपाध्यायले घरबाटै जीवनका पाठ सिकेका बालबालिकाले विद्यालयमा आफ्नो सोचलाई थप फराकिलो बनाउने सीप सिक्ने कुरा बताए । उनले पछिल्लो समय विद्यालयहरूले ज्ञानसँगै सीप सिकाउने कार्यको थालनी गरेकोमा खुसी व्यक्त गरे ।

बालबालिकालाई पढाइसँगै जीवन र जगत्का विभिन्न आयामको अध्ययनतर्फ केन्द्रित गर्दै राष्ट्रप्रेमी भावना बढाउन अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो । उनले कक्षा १२ पढेपछि विद्यार्थीलाई विदेश पठाउन कन्सल्टेन्सीतर्फ धकेल्ने गरिएको तर देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान नदिइएकोमा चिन्ता व्यक्त गरे । विदेशिएका छोराछोरीलाई कुरेर बसेका बाआमाको लास बनेपछि दाहसंस्कारका लागि समेत कुरिरहनुपर्ने दुखद अवस्था आएको उनले संवेदनशीलतापूर्वक उल्लेख गरे ।

देशमा असल नेतृत्वको अभावले यस्तो अवस्था आएको बताउँदै उनले क्लबका भाइबहिनीको पुस्ताले अध्ययनलाई निरन्तरता दिएर असल नेतृत्वको आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिए ।

क्लबका संरक्षक तथा साहित्यकार सञ्जीव पौडेलले विद्यालयले क्लबमार्फत पुस्तक अध्ययनबाट जीवन र जगत्को विश्लेषण गर्ने संस्कृति स्थापना गर्न लागिएको बताए । उक्त अवसरमा साहित्यकार सुरज उपाध्यायले क्लबमार्फत विद्यालयको पुस्तकालयलाई आफ्नो पछिल्लो कविता संग्रह ‘बाबा कतारमा, आमा हतारमा’ का केही प्रति हस्तान्तरण गरे । साथै, क्लबको पठन संस्कृति अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा परिचर्चा गरिएको कविता संग्रहबाट केही कविता बालबालिकाले वाचन गरेर सुनाएका थिए ।

क्लबकी अध्यक्ष प्रशंसा शर्माको अध्यक्षतामा सम्पन्न पुस्तक परिचर्चा कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रिसी त्रिपाठीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव अर्पण भण्डारीले गरेका थिए ।