
पोखरा महानगरपालिका वडा नम्बर २६ मा तीन ताल छन् । यसअघि सहकारीमार्फत् व्यावसायिक रुपमा माछापालन हुँदै आएकोमा अहिले तीनै ताल अस्तव्यस्त छन् । केही समयदेखि पोखरा महानगरपालिका वडा नम्बर २६ को कार्यालयले मत्स्यपालन सहकारीहरुलाई तालमा माछापालन गर्न रोक लगाएको छ ।
वडा कार्यालयले वैकल्पिक व्यवस्था वा महानगरले नै व्यवस्थापन गर्ने संयन्त्र तयार नगरी सहकारीलाई रोक्दा अनेक खालका अप्ठेरा आइपरेको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय दिनमा सयौं मानिस तालमा माछा मार्न आउने, होहल्ला गर्ने, धानबारीमा दौडिने गरेको देखिएको छ ।
स्थानीय नवराज अधिकारी सहकारी र वडा कार्यालयबिच कुरा नमिल्दा ताल अस्तव्यस्त बनेको र अनियन्त्रित रुपमा बाहिरका मानिसको आगमन, होहल्ला, माछा मार्ने जस्ता क्रियाकलापले जनजीवनमै असर परेको बताउनुहुन्छ । “पहिला सहकारीले चलाएको थियो, अब वडाले नै चलाउने भए पनि चलाओस्,” बराल भन्नुहुन्छ, “तर ताल अव्यस्थित बनाउने, माछा चोरी गर्ने केन्द्र यहाँका ताल बन्नुभएन ।”
यहाँका खास्टे, न्युरेनी र गुँदे ताल पर्यटकीय स्थलसमेत हुन् । २०७३ माघमा स्थानीयले खास्टे ताल मत्स्य तथा कृषि सहकारी स्थापना गरी ताल व्यवस्थापन र माछापालन थालेका थिए । त्यसपछि एकारित ताललाई जोगाउने काम भएको थियो भने अर्कातिर व्यववसायिक माछापालन पनि फस्टाएको थियो ।
सहकारीका पूर्वअध्यक्ष हरि अधिकारी २०६८ सम्म बेवारिसे तालहरुलाई स्थानीयले व्यवस्थित गरी सरकारीमार्फत् आयआर्जन गर्दै आएकोमा अहिले समस्या आएको बताउनुहुन्छ । “अहिले वडा कार्यालयले सिफारिस पनि दिएन । माछा मार्नेहरुलाई पनि रोक्यो,” उहाँले भन्नुभयो, “फेरि वडाले पनि व्यवस्थित नगरी छाडिदियो । हामीले डेड दशक गरेको प्रयास र परिश्रम खेर गयो ।”
सहकारीले माछापालनको जिम्मा दिएका झलक जलारी आफ्नो करिब डेढ करोड लगानी आफ्नो डुबेको बताउनुहुन्छ । उहाँले खास्टे र न्युरेनी तालमा माछापालन गर्ने गरी १० वर्षका लागि मासिक ८० हजार दिने गरी सहकारीसँग सम्झौता गर्नुभएको थियो । जलारीले नै गुँदेताल मत्स्य सहकारीसँग मासिक ४५ हजार दिने गरी जिम्मा लिनुभएको थियो । गुँदेमा ६० लाख जति लगानी गरेको उहाँको दाबी छ ।
“पाँच महिना जति भो काम गर्न नपाएको,” जलारीले भन्नुभयो, “मैले हालेका माछा दिनमै सयौं गएर मारेको देख्छु । न वडाले राम्रोसँग चलायो । न मेरो लगानीबाट आम्दानी गर्न दियो ।”
खास्टे ताल मत्स्य तथा कृषि सहकारीमा साढे सात सय सेयर सदस्य छन् । दुई सय ६९ हेक्टरमा फैलिएको यो तालमा पानीले क्षेत्रफल करिब दुई सय हेक्टर छ । यहाँ अनेक प्रजातिका रैथानेसहित हिउँदा पाहुन चराहरु पनि आउँछन् । न्युरेनी ताल १८ हेक्टरमा रहेकोमा १० हेक्टर जति पानीले ढाकिएको छ । गुन्द्री बुन्न प्रयोग हुने गुँद पाइने भएकाले वडाको अर्काे तालको नाम गुँदे राखिएको छ । यो ताल ६१ हेक्टरमा छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापा प्राकृतिक सम्पदाहरु सरकारको अधिनमा रहनुपर्ने भएकाले तालहरुलाई व्यस्थित गर्न खोजिएको बताउनुहुन्छ । “सहकारीले ठगिरहेको थियो । त्यसो हुनुहुँदैन,” उहाँ भन्नुहुन्छ, “अब महानगरले यसको सञ्चालन गर्छ, आम्दानी गर्छ । व्यवस्थित रुपमा चलाउन महानगरले समिति बनाउँदै छ ।