
रेन्बो एकेडेमिक होम्सकी छात्रा स्वीकृति भण्डारी
सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा भएको क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगितामा रेन्बो एकेडेमिक होम्सकी स्वीकृति भण्डारी प्रथम भएकी छन् ।
शुक्रबार भएको प्रतियोगितामा शान्ति निकेतन माविकी सुजिता क्षेत्री दोस्रो र बाल प्रभात माविकी उत्सवी सुवेदी तेस्रो ठहरिए । सैनिक आवाशीय माविकी अदिती ढकाल, ओखलेडाँडा माविकी अनुषा नेपाली र कास्की मोर्डनाइज्ड एकेडेमीकी श्रीसा रानाभाट सान्त्वना भएको कार्यक्रम संयोजक नारायणी शर्मा गौतमले जानकारी दिइन् ।
विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्नका लागि गण्डकी प्रदेशको पोखरा उच्च अदालत क्षेत्र भ्रमण गराइएको थियो । जहाँ उनीहरूले प्रत्यक्ष रूपमा अदालती प्रक्रिया, न्यायालयको संरचना, न्याय प्रणालीका विविध पक्ष अवलोकन गरी जानकारी लिएका थिए ।
विद्यार्थीले त्यसरी जानकारी संकलन गरी प्रतिवेदन लेखेका थिए । मञ्च अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख कृष्णबाबु बराल, मञ्चका सचिव तिलक काफ्ले, कार्यक्रम संयोजक नारायणी शर्मा, निवर्तमान अध्यक्ष दिनेश अर्याल, पोखरा उच्च अदालतमा उपरजिस्टार जीवन पौडेल लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कास्कीका ९६ विद्यार्थीको सभागिता थियो । चाँडै पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने मञ्चले जनाएको छ ।