समाजवाद लक्षित कविता सुनाइए

अखिल नेपाल लेखक संघद्वारा आयोजित कविता वाचन श्रृंखला “निरन्तरतामा समय प्रवाह” को दोस्रो कडी “समाजवाद र कविता, कविताको आरन” शीर्षकमा काठमाडौंको बागबजारमा एक विशेष कविता वाचन भएको छ। कार्यक्रममा कविता र समाजवादबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै, कवितालाई सामाजिक रूपान्तरणको शक्तिशाली माध्यमका रूपमा प्रस्तुत गरिएको थियो।

देशका विभिन्न भूभागबाट आएका ख्यातिप्राप्त तथा नवोदित १० जना कविहरूले कार्यक्रममा कविता वाचन गरेका थिए। सहभागी कविहरुमा तेज योन्जन, सुमिना, भूमिका थारु, अस्मिता वादी, मिथोच लस्पाच, लक्ष्मी रुम्बा, रमेश विक्रान्त, महेन्द्र थुलुङ राई, रसुवाली कवि र डम्बर थामी ‘अनुपम’ रहेका थिए। विशेष रूपमा कवि तेज योन्जनले तामाङ भाषामा र डम्बर थामी ‘अनुपम’ले थामी भाषामा कविता वाचन गरेका थिए, जसले भाषिक विविधता र सांस्कृतिक समृद्धिलाई पनि उजागर गर्‍यो।

कविहरूले समाजवादी विचारधारा, वर्गसंघर्ष, जनजीवनका विविध पक्षहरू तथा जनयुद्धका अनुभवहरूलाई विषयवस्तु बनाउँदै भावपूर्ण कविता प्रस्तुत गरे। उनीहरूले कविता केवल सौन्दर्यको विषय नभई सामाजिक परिवर्तनको हतियारसमेत हो भन्ने सन्देश दिएका थिए। सहभागी कविहरूको धारणा थियो— “समाजवाद केवल राजनीतिक दर्शन होइन, यो जीवनको सौन्दर्य चेतना हो, जसलाई कविताले अझ गहिरो अर्थ प्रदान गर्न सक्छ।”

कार्यक्रमको प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले प्रस्तुत कविताहरूको सजीव र गहिरो समीक्षा गरे। उनले कविता लेखनमा विम्ब, प्रतीक, छन्द, अलंकार र लयको प्रयोग मात्र पर्याप्त नहुने, बरु ती तत्वहरू मार्फत् भावको गहिराइ सम्प्रेषण गर्न सक्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार कविता ललित, भावमय र जीवन्त हुनुपर्छ— जुन दुनियाँलाई छोने सामर्थ्य राखोस्।

कार्यक्रमको उद्घाटन अखिल नेपाल लेखक संघका अध्यक्ष तथा सशक्त कवि मुक्तान थेबाले गरेका थिए। उनले महान सहिद कृष्ण सेन ‘इच्छुक’को स्मरण स्वरूप एक प्रेरणादायी कविता वाचन गर्दै कार्यक्रमको औपचारिक शुरुआत गरेका थिए। कार्यक्रमको सञ्चालन कवि सुरज उपाध्यायले गरेका थिए।