१ करोड ३० लाखका गहनासहित २ पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले सवा करोडका गरगहनासहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । पोखराबाट बुटबलतर्फ जाँदै गरेको माइक्रोबस चेकजाँच गर्ने क्रममा पोखरा–२२, पुम्दीभुम्दीबाट कुलदीप सिंह र रामबहादुर विकलाई नियन्त्रणमा लिइएको हो ।

भारतको पञ्जावका ४९ वर्षीय सिंह र रुपन्देहीका ४७ वर्षीय विकको फेसबुकमार्फत् चिनजान भएको थियो । सिंह र विक दुवैलाई शनिबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबारको बजार मूल्य अनुसार सुनसहितका पत्थरको मूल्य एक करोड तीस लाख एकचालिस हजार आठ रुपैयाँ पर्ने देखिन्छ ।

उनीहरुको साथबाट सुनका ढिक्का दुई तोला, सिक्री २९ थान, औठी ५७ वटा, जुली तीन सय २४ थान, मङ्गलसूत्र १७ थान, लकेट ९९ थानसहित ८२ तोला १६ लाल सुन र पत्थर फेला पारेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताए । पक्राउ परेका दुवैलाई उक्त सामानसहित आवश्यक कारवाही र अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइने उनको भनाइ छ ।

कुलदीपले पछिल्लो समय भारतका विभिन्न ठाउँमा सुनका गरगहना बेच्दै हिड्ने गरेकोमा पछिल्लो समय नेपालमा पनि बेच्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको छ । असार ४ गते विकलाई साथमा लिएर पोखरा आएका सिंहले यहाँ पनि सुन बेच्न खोजेको थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।