पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरे । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँबरले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् । कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्ने सीप आर्जन भएको विषय शिक्षक सुवास मल्लले सुनाए ।

कार्यक्रममा पत्रकारहरु शान्ति गुरुङ, शोभाकान्त सिग्देल र केशवशरण लामिछनेले विद्यार्थीको प्रस्तुतिकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका अनुभवी र पत्रकारिता प्राध्यापनसमेत गर्नेहरुबाट नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा सैद्धान्तिक सिकाइले व्यवहारिक रुप पाएको महसुस भएको विद्यार्थी सविन गुरुङ्गले बताए ।

पोखरा कलेज अफ म्यानेजमेन्टले २ दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन संकाय चलाइरहेको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सयभन्दा बढी विद्यार्थी बिबिए, बिबिए फाइनान्स र बिसिएसआइटी पढिरहेका छन् ।