असारमात्र एक चौथाईभन्दा बढी खर्च

बारम्बार प्रश्न उठ्ने गरे पनि पोखरा महानगरमा असारमा ठूलो रकम खर्च गर्ने परिपाटी घटेको छैन । महानगरले २०८०/०८१ को असारमा मात्र ६६ करोड २१ लाख अर्थात् २५.७४ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

असंख्या योजना हचुवाका भरमा राखी वितरणमुखी योजनालाई जोड दिएको देखिएको छ । १६१६ वडागत र ३१२ पालिकागत गरी १९२६ योजना रहेकोमा १ लाखभन्दा कमका योजना १५२ देखिएका छन् । एकदेखि पाँच लाखसम्मका योजना ९१४, ५ देखि १० लाखका ३५५, १० देखि ५० का ४१० वटा र ५० लाखभन्दा माथिका ९५ योजनामात्र छन् ।

७४ प्रतिशत योजना पाँच लाखभन्दा कमका बनाएको महानगरले ३२१ योजनामा शून्य प्रगति गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले ती योजनामा विनियोजित रकम ६२ करोड ७९ लाख २० हजार भएको देखाएको छ ।

महानगरले मापदण्ड र कार्यविधिबिना १९ लाख ७५ हजार पाँच सय सात आर्थिक सहायता वितरण गरेको देखिएको छ । यस्तै, दुई करोड ३८ लाख ११ हजार पाँच सय ७८ को खाजामा खर्च गरेको छ ।

१३ अर्ब ४६ करोड ७२ लाख ६० हजारको लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख नौ हजार एक सय ८४ बेरुजू भएको छ । असुल गर्नुपर्ने १९ करोड ५१ लाख देखिएको छ । अघिल्लो आर्थिक वर्षसम्म वर्षसम्मको बेरुजू तीन अर्ब ५० लाख रहेकोमा २७ लाख ११ हजारमात्र फस्यौट भई अद्यावधिक बेरुजू तीन अर्ब ५० करोड ९१ लाख १३ हजार पुगेको छ ।