कास्कीका पत्रकार र प्रदेशभरीका ट्राफिकलाई चस्मा वितरण

नेपाल नेत्रज्योति सङ्घले गण्डकी प्रदेशभरी खटिएका ट्राफिक प्रहरी र कास्कीका पत्रकारलाई चस्मा वितरण गरेको छ । सङ्घले गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरुका लागि बुधबार चार सय ५० थान चस्मा वितरण गरेको हो ।

हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको सहयोग र हिमालय आँखा अस्पतालको समन्वयमा चस्मा वितरण गरिएको हो । सोही अवसरमा कास्कीका एक सय पत्रकारलाई पनि चस्मा वितरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीमार्फत् ६३ र संसदीय पत्रकार मञ्च, गण्डकीलाई ३७ थान चस्मा वितरण गरिएको हो ।

करिब तीन हजार पर्ने पोलराज्ड सन ग्लास वितरण गरिएको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले ट्राफिक सप्ताह जारी रहेकै बेला भएको यस खालको सहयोगको विशेष अर्थ हुने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा खटिने सबै ट्राफिकलाई चस्मा पु¥याउने वाचा गर्दै सहयोगको सदुपयोग हुने उल्लेख गर्नुभयो ।

नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले अल्ट्राभ्वालेन्ट किरण रोक्ने यस खालका चस्माले फिल्डमा खटिनेहरुलाई सघाउने अपेक्षा गर्नुभयो । कार्यक्रममा महासचिव चन्दले ट्राफिक र पत्रकारहरुको निशुल्क आँखा उपचारका लागि सम्झौता भइसकेकाले त्यसको लाभ लिन आग्रह गर्नुभयो । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतका अस्पतालहरुमा नेपालमा बर्सेनि ३५ लाखभन्दा बढीको आँखा उपचार गर्ने गरिएको छ ।

हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले नागरिकको अधिकार र रक्षाका लागि खटिनेहरुलाई संरक्षण गर्ने दायित्व पनि नागरिककै हुने औंल्याउनुभयो । उहाँले प्रहरी र ट्राफिक प्रहरीहरुको आँखा जाँच र उपचारमा सघाउने वाचा गर्नुभयो । “हामी प्रहरी र ट्राफिकको सित्तैमा आँखा जाँच र उपचार गर्छाैँ । जाँचका लागि शिविर आवश्यक भए यहाँहरुकै अनुकूलतामा त्यो पनि गर्र्छाैं,” अध्यक्ष थापाले भन्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्याति सङ्घ गण्डकी अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री, नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधव बराल हिमालय आँखा अस्पताल सञ्चालक समिति सदस्य डा नारायण बराल, सदस्य डा नन्द श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।