पोखरामा २ प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको उद्धार

पोखरा महानगरको फेवातालमा बुधबार दिउँसो दुई प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । दिउँसो तीन बजेतिर पोखरा–१८, खपौंदीमा पर्ने फेवातालमा दुई प्याराग्लाइडिङ अनियन्त्रित भई खसेका थिए ।

दुर्घटनापछि त्यसका चालक र यात्रु गरी चार जनालाई सकुसशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “दुर्घटनाको खबर पाउनासाथ नेपाल प्रहरीको उद्दार टोली र सशस्त्र प्रहरी बलको फेवा रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोलीले उद्धार गरिसकेको छ ।”

उद्धार टोलीले प्याराग्लाइडिङमा सवार भारतको बनारसका ४१ वर्षीय अकलेस यादव र वर्ष ३५ का चन्दनकुमार पटेललाई उद्धार गरेको छ । यसैगरी, काभ्रेको धुलिखेल नगरपालिका वडा नमब्र १ का वर्ष ३० मिलन शाह र पोखरा–६ बस्ने वर्ष २८ का विश्वासकुमार अधिकारीलाई पनि उद्धार गरेको छ । शाह अग्नि प्याराग्लाइडिङ पोखराका पाइलट हुनुहुन्छ भने अधिकारी ह्याप्पी प्लाइ प्याराग्लाइडिङका पाइलट हुनुहुन्छ ।

पोखरा–१८, तोरीपानीबाट उडेका दुवै प्याराग्लाइडिङ खपौदीमा ल्यान्ड गर्नुपर्ने थियो । यहीअघि मान्द्रढुङ्गाबाट उडान भरी पामेमा अवतरण गर्ने नियम रहेकोमा दुई साताअघि तोरीपानी सारिएको थियो ।