नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य दमयन्ती रुचाल गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समिति सभापति निर्वाचित भएकी छन् । बिहीबार नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य रुचालको सभापतिमा एकल मनोनयन भएकोमा शुक्रबार निर्वाचित भएको घोषणा गरिएको हो ।
समितिका ज्येष्ठ सदस्य महेन्द्रध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले रुचाललाई सभापति सर्वसम्मत चयन गरेपछि सभामुख कृष्णप्रसाद धितालले उनलाई पद तथा गोपनियताको सपथ गराए । रुचाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व)की समानुपातिक प्रदेशसभा सदस्य हुन् ।
गत वर्षको जेठ ३० गते समितिका तत्कालीन सभापति फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि सभापति रिक्त थियो । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले लेखा समिति सभापति लिन चाहेको भए पनि नेकपा (एमाले) त्यसमा तयार भएन । माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान समितिको सङ्ख्या बढाउँदा राम्रो सन्देश नजाने भएकाले सहमतिको आधारमा सामाजिक विकास समितिले लिएको दाबी गर्छन् ।
“हामीले लेखा समितिमा दाबी गर्दै एक वर्ष पर्खियौँ, सत्तारुढ दल तयार भएनन्,” उनी भन्छन्, “अर्काे समिति गठन गरी लेखा समिति लिँदा राम्रो सन्देश जाँदैन भन्ने लाग्यो । त्यसैले सामाजिक समिति लिएका छौँ ।” एमालेले लेखा समिति माओवादी केन्द्रले लिने भए विशेषाधिार समिति गठन गरी त्यसको नेतृत्व मागेको थियो ।
प्रदेशसभामा दुई तिहाइभन्दा ठूलो संख्यामा रहेका सत्तारुढ एमाले र कांग्रेसले लेखा समिति दिन आलटाल गर्दा माओवादीले सामाजिक विकास समितिमै चित्त बुझाएको हो । सभापति चयनकै लागि गण्डकी प्रदेशसभा नियमावली गएको चैत २६ मा संशोधन गरिएको थियो । गण्डकी प्रदेश सभामा रहेका चार समितिमध्ये प्रदेश मामिला तथा कानुन समिति र अर्थ विकास समितिमा नेपाली कांग्रेसको नेतृत्व छ । लेखा समिति सभापतिमा एमाले सांसद सुधीरकुमार पौडेल छन् ।
भारतीय सैनिक बुवाकी छोरी दमयन्ती सानादेखि विभेद भोग्दै र देख्दै हुर्र्किएकी हुन् । जनयुद्ध दलित, महिलाको न्यायको लागि भन्ने ठानेर उनी जनयुद्धमा सामेल भइन् । २०५६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को टोल इकाइ अध्यक्षबाट उनको राजनीति यात्रा सुरु भएको हो ।
१८ वर्षको युवा वयमा उनी घर छाडेर जनयुद्ध लागेकी थिइन् । जनयुद्धका क्रममा २०६२ मा जीवनसाथी गुमाएकी उनले शान्ति प्रक्रिया सुरु भएपछि नयाँ पारिवारिक जीवन सुरुआत गरेकी छन् । गएको प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उनी प्रदेशसभामा सांसदका अधिकारको बारेमा खरो कुरा राख्नेमा पर्छिन् । विभेदको विरुद्ध चर्काे आवाज उठाउने उनी अहिले सभापति बनेर एउटा समितिको नेतृत्वमा पुगेकी छन् ।




