
प्रतिष्ठित उद्यमी बुद्धिबहादुर श्रेष्ठ (हाल स्वामी बोधानन्द) पोखराका एक नवरत्न हुन् । जसलाई पोखरा उपमहानगर पालिकाले वि.सं. २०५७ सालका नवरत्न सम्मान प्रदान गरेको थियो । श्रेष्ठले नवरत्न स्वरूप प्राप्त रकममा बुद्धि गरेर लक्ष्मी पदक प्रदान गर्न पोखरा उद्योग वाणिज्य संघमा अक्षयकोष राखे । पृथ्वीनारायण क्यामपसमा वाणिज्य शास्त्रमाप्रथम हुने विद्यार्थीले सो पदक हालसम्म निरन्तर प्राप्त गर्दै आइरहेका छन् ।
स्वामी बोधानन्दलाई नजिकबाट चिन्नेले धर्म र कर्मलाई सँगसँगै दोहो¥याएर लग्न सक्ने एक मिलनसार व्यक्तिका रूपमा लिने गर्दछन् । वि.सं. १९९९ साल फाल्गुनमा पोखराको बागबजारमा जन्मिएका बुद्धिबहादुर श्रेष्ठले सानै उमेरमा पितृवियोग सहनुप¥यो । भाइ गणेशबहादुर श्रेष्ठ जन्मेको २४ दिनमा २००३ सालमा पितालाई गुमाउनु परेको थियो ।
माता पुतली देवीले मेहेनत र कठोर परिश्रम गरी आफ्ना सन्तानलाई हुर्काउनु परेको थियो । शुरुमा बुद्धिबहादुरले राधबलाल बैद्यका बुवासाग साँवा अक्षर र ठूलो वर्णमाला पढे । त्यहाँबाट उनी पोखरको चिसाखोला वेद विद्याश्रममा भर्ना भए । पछि नारायणस्थान नदीपुरमा खुलेको राष्ट्रिय माध्यमिक विद्यालय (तत्कालीन पोखरा पब्लिक स्कुल)मा ३ कक्षामा भर्ना भए ।
त्यहा पढ्दै गर्दा शिक्षिका दमयन्ती प्रधानको कुटाइ खाएपछि २ वर्ष स्कुल नै गएनन् । पछि त्यही स्कुलमा ६ कक्षामा भर्ना भए । शुरुमा उनको नाम बुद्ध थियो । शिक्षकले उनको नाम बुद्धको स्थानमा बुद्धिबहादुर लेखिदिए । उनले बाल्यकालमै बुद्धको जीवनीबाट अति प्रभावित भए ।
राष्ट्रिय मा.वि.बाट एस.एल.सी. पास गरेपछि पृथ्वीनारायण कलेजमा २०१९ सालमा उनी भर्ना भए ।
यस अघि उनले केही समय सिद्धार्थ राजमार्ग परियोजनामा काम गरे । त्यस पछि उनले राष्ट्रिय माध्यमिक विद्यालयमा लेखापाल भएर सेवा गरे । त्यसबेला उनको मासिक तलब रु. १००।– थियो । आमाले घरमा पुस्टकारी बनाएर सबैको लालन पालन गरेको देखेर उनको मन जागिरमा भन्दा उद्योग व्यवसायमा तानियो ।
२०२८ सालतिर बुटवल जाँदा मिठाई या चकलेट बनाउने सोच गरे । त्यहाँका केही मित्रलाई (चकलेट) बनाउने मेसिन कसैले बेच्छन कि भनेर सोधे । नभन्दै ३ दिनमा जवाफ आयो – मेसिन बेच्ने मान्छे भेटियो । बुद्धिबहादुरले भाइ गणेशका नाउँमा घरमै लक्ष्मी मिठाइ भण्डार खोले ।
बुद्धिबहादुरको ध्यान नयाँ, नयाँ उद्योग र बजारको खोजिमा केन्द्रित हुन्थ्यो ।
उनले २०३३ सालमा पोखरा औद्योगिक क्षेत्रमा लक्ष्मी मिठाइ उद्योग खोले । उद्योगले गति लियो । अहिले पोखराको लक्ष्मी हाउस मुलुककै एक प्रतिष्ठित, व्यापारिक प्रतिष्ठान बनेको छ ।
सुरुदेखि नै बुद्धिबहादुरको लवाइ, खवाइ साधुसन्त, महात्माकै जस्तो थियो । सबैसँग आत्मीय व्यवहार गर्दै धर्मलाई सँगसँगै अगि बढाइरहेका थिए । उनले धेरै सन्त, महात्माहरुको दर्शन र संगत गरेका छन्, सेवा गरेका छन् । तर उनले कसैलाई पनि विधिवत गुरु मानेका भने छैनन् । उनी चेला चपेली बनाउने, आश्रम बनाउने पक्षमा छैनन् ।
अहिले अन्र्तमुखी बनाउने कार्यमा भने खटिरहेका छन् ।
बुद्धिबहादुर श्रेष्ठले सन् २०१८ मा सन्यास ग्रहण गरेर स्वामी बोधानन्द बनेका छन् । पारिवारिक माया, ममता, मोहबाट विल्कुलै अलग छन् । सनातन धर्म संस्कृतिलाई नजिगबाट नियालेका स्वामीजी धर्मका आदर्श भन्दा व्यवहारिक पक्षमा कट्टर अनुयायी झैँ लाग्छ । उनले आफ्नो लामो जीवनमा भोगेका अनुभवलाई भगवानको विधि, विधान भन्न रुचाउँछन् ।
तपाइको केही कमजोरी छन् भन्ने प्रश्नमा स्वामी बोधानन्दले जवाफ दिए – म पनि मान्छे हुँ । मानवीय कमी, कमजोरी म भित्र पनि हुन सक्छ । यो कुनै नयाँ र आश्चर्यको विषय होइन ।