ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली अहिले सोही सहकारी ठगीको मुद्दामा जिल्ला अदालत बागलुङको आदेशानुसार त्यहाँको कारागारमा हुनुहुन्छ । पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी सञ्चालन गर्नुभएका नेपाली बागलुङको सहकारी ठगी अभियोगमा जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

कास्कीको इमेज सहकारीको मुद्दामा जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सोमबार नेपालीलाई कारागार चलान गर्न आदेश गरेको हो । नेपालीविरुद्ध पोखराकै सूर्यदर्शन सहकारी ठगीमा पनि कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । उक्त मुद्दामा भने हालै अदालतले २० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उहाँले सोमबारसम्म धरौटी बुझाउनुभएको छैन । इमेज सहकारीको ठगी मुद्दामा कास्की अदालतले नेपालीलाई पोखरा झिकाएर बयान लिएको थियो ।

आइतबार बयान सकिएसँगै सोमबार भएको थुनछेक बहसपछि नेपालीलाई थुनामा पठाउने आदेश भएको अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो । इमेज सहकारी बागलुङमा करिब डेढ अर्ब अपचलन भएको देखिएको छ ।

नेपालीविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उहाँ सम्पर्कविहीन बन्नुभएको थियो । भारतको नयाँदिल्लीबाट गएको असोज १२ गते पक्राउ पनुभएका नेपालीलाई जिल्ला अदालत बागलुङले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।