कास्कीका नेपाली शिक्षकलाई भाषा शिक्षण सिकाइयो

विद्यार्थी र शिक्षक केन्द्रित विभिन्न कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालले विद्यालय तहका शिक्षकलाई नेपाली भाषा शिक्षण तालिम दिएको छ ।

आफ्नो नियमित कार्यक्रम अन्तर्गत परिषद्ले आयोजना गरेको कार्यक्रमामा २ सय शिक्षक सहभागी थिए । शिक्षकहरुलाई प्राडा रामनाथ ओझा, माधवशरण उपाध्याय, उप प्राडा बोधराज ढकाल, लोकचन्द्र खनाल, डोलराज अर्याल र डिल्लीराम अर्यालले शिक्षण सीप सिकाएका छन् ।

संस्थाका अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख घनश्याम पौडेलले परिषद्ले गरेको यस्तो कार्यको प्रशंसा गर्दै संस्थासँग जोडिएर सहकार्य गर्न तयार रहेको जनाए । उनले परिषद्ले यस्ता कार्यक्रम गरिरहनुपर्ने र त्यसका लागि कुनै सहयोग चाहिए निर्देशनालयले सघाउने सुनाए ।

कार्यक्रममा परिषद्का महासचिव शिवहरि सुवेदी, वरिष्ठ उपाध्याय विक्रम पौडेल र सचिव शशिशिशिर ढुंगानाले समेत बोलेका थिए ।