वडाध्यक्ष पराजुलीविरुद्ध जिप्रकामा जाहेरी दर्ता, महानगरको काम ठप्प

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले मङ्गलबार जाहेरी परेको र बुधबार दर्तापछि अनुसन्धान जारी रहेको जानकारी दिए ।

वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गका व्यवसायी लेखनाथ सुवेदीमाथि हातपात गरेपछि सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन् । मङ्गलबारै पौने १२ बजेतिर पराजुलीले महानगरका अधिकृतमाथि हातपात गरेपछि बुधबारबाट महानगरको कामकाज ठप्प भएको छ ।

प्रशासन महाशाखाका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने वडाध्यक्षले हातपात गरेपछि पोखरा महानगरका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । घटनापछि स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले मङ्गलबारै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

चार सङ्गठनले २४ घन्टाभित्र कानुनबमोजिम कारवाही गर्न महानगर प्रमुख धनराज आचार्यको ध्यानाकर्षण गराएका थिए । घटनाको २४ घन्टासम्म छलफलसमेत नभएको भन्दै कर्मचारी सङ्गठनहरुले बुधबारदेखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारेका हुन् ।

प्राय महानगरमा मादक पदार्थ सेवन गरी आउने वडाध्यक्ष पराजुलीका कारण आफूहरु त्रासमा बस्नु परेको कर्मचारीहरु बताउँछन् । पराजुली नेपाली कांग्रेस कास्कीका सचिवसमेत हुन् ।