बाबा कतारमा आमा हातरमा: सिर्जनशीलता सशक्त माध्यम

प्रिय सुरज उपाध्यायज्यू,

नमस्ते!

तपाईंले मलाई उपहार स्वरूप दिनुभएको “बाबा कतारमा आमा हातरमा” कविता संग्रह पढेर म धेरै खुसी भएँ। यो पुस्तक केवल कविताहरूको संग्रह मात्र होइन, बालबालिकाहरूको मनमा सिर्जनशीलताको बिउ रोप्ने एक सशक्त माध्यम हो। तपाईंका २८ वटा छोटा तर गहन कविताहरूले आजको यस संसारको यथार्थ, मानवीय संवेदना, प्रकृति प्रेम, समाजका जटिलताहरू, र बालमनको कोमलतालाई असाध्यै सजिलो र मनोरम ढंगले प्रस्तुत गरेका छन् ।

पहिलो कविता “आऊ चरी आऊ” ले बच्चाहरूलाई कविता र गीत सिर्जना गर्न प्रेरित गर्छ भने “डर” जस्ता कविताले मानिसको निर्ममतालाई जंगली जनावरभन्दा डरलाग्दो बताउँछन्। “धेरै राजा” ले नेपालको वर्तमान राजनीतिक यथार्थलाई उजागर गर्छ भने “भट्टी भट्टी धाएर” जस्ता कविताले घरमा पिडित आमा र बच्चाहरूको मर्मस्पर्शी दुखःलाई शब्द दिन्छन्। “हामी नेपाली” ले गाउँले जीवनको सुन्दरता र संस्कृतिलाई समेट्छ भने “छाता लग्यो चराले” जस्ता कल्पनाशिल कविताले मानव र प्रकृतिबीचको सौहार्द र करुणालाई चित्रण गर्छन्।

तपाईंका कविताहरूले एउटा शिक्षकले १० वर्षमै पनि प्रेरित गर्न सक्ने काम एकै कविताले क्षणभरमै गरिदिन्छ। बालसुलभ सरलता, जीवनका गहन सबक, र समाजप्रतिको सचेतना ले यो पुस्तक बालसाहित्य भएर पनि सबै उमेर समुहको लागि उपयोगी छ। म विशेष गरी यसको लगभग १५ प्रति हाम्रो पुस्तकालयहरूमा उपलब्ध गराउन चाहन्छु ताकि अधिक बालबालिका र अभिभावकहरूले पनि यसको लाभ लिन सकुन्।

तपाईंले यसअघि पनि मलाई कविता उपहार दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु। तपाईंको लेखनीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गर्दछु। यसै गरी अरू पनि सृजनात्मक रचनाहरूले नेपाली साहित्यलाई समृद्ध बनाउनुहोस्।

धन्यवादसहित,
पानी पोख्रेल , मदरल्याण्ड मा. वि. मासवार, पोखरा