शिक्षामन्त्री विद्याले किन दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।

त्रिभुवन विश्वविद्यालयको सुधारमा सरकार र प्रधानमन्त्रीकै अपेक्षित साथ नपाएकी उनले शिक्षक आन्दोलनलाई सम्बोधन गर्न सरकारले नसकेपछि राजीनामा दिएको बुझिन्छ ।

मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने बताउँदै आएकी थइन् । यो ऐन अझै आउन सकेको छैन । विद्या कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।