
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले भ्रष्ट्राचार, अनियमितता, सहकारी ठगी जस्ता प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै खबरदारी गरेको छ । नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपाले शुक्रबार पोखरामा ¥यालीसहित कोणसभा आयोजना गरेको हो ।
मानवअधिकार चोकदेखि सुरु भएको ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक हुँदै नदीपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीका सहभागीहरुले पोखरा विमानस्थलको अनियमितता छानबिन गर, सामाजिक विभेदहरु अन्त्य गर, युवालाई रोजगारीको ग्यारेन्टी गर, शिक्षकका मागहरु पूरा गर, सहकारी ठगहरुलाई कारवाही गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौँ जस्ता नारा लगाएका थिए ।
कोणसभामा नेकपा कास्की सेक्रेटरी उमेश सीले नेपालमा पछिल्ला सात दशकमा सात संविधान बने पनि जनताको अवस्था नबदलिएको जनाए । ‘संविधानहरु बनिरहे, शासकहरु फेरिइरहे, जनताको अवस्था उस्तै रह्यो,’ उनले भने, ‘जनताको अवस्था फेर्न र देशको समृद्धिका लागि एकीकृत जनक्रान्ति जरुरी छ । त्यसबाट नेपाली विशेषतासहितको समाजवादसम्म पुग्नु अपरिहार्य छ ।’
उनले नेकपा कास्कीले उत्पादनको क्षेत्रमा समेत काम थालेको जनाउँदै अहिलेको व्यवस्था र प्रणालीबाट देशले निकास नपाउने उल्लेख गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि अन्तर्राष्ट्रिय उडान नहुनु र ठूलो अनियमितता भएकोको तर्फ इंगित गर्दै उनले त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य कुमार सी, पोखरा महानगर सेक्रेटरी सोममाया सी, अखिल (समाजवादी) संगठन कास्की अध्यक्ष केश सी लगायतले बोलेका थिए ।
शुक्रबारै नेकपा निकट समाजवादी ट्रेड युनियन महासंघ कास्कीको दोस्रो भेला भएको छ । भेलामा नेकपा कास्की इन्चार्ज आस्था सीले अहिलेका समस्या समाधान गर्दै देशको विकासका लागि एकीकृत जनक्रान्ति अपरिहार्य भएको बताइन् । भेलाले तुलसा सीको अध्यक्षतामा १७ सदस्यीय समाजवादी ट्र्ड युनियन महासंघ कास्की गठन गरेको छ ।