मेथिनकोटमा आँखा शिविर, संसारीदेवीका विद्यार्थीलाई स्टेसनरी

लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको आयोजनामा काभ्रेको नमोबुद्ध–४, मेथिनकोटमा निशुल्क आँखा शिविर, स्टेसनरी वितरण र सम्मान कार्यक्रम भएको छ ।

क्लबले शुक्रबार मेथिनकोटको जोरसल्लामा रहेको संसारीदेवी आधारभूत स्कुलमा भएको कार्यक्रममा १ सय ७४ विद्यार्थीलाई कापी, कलम, पेन्सिल, पेन्सिल केस लगायतका स्टेनसरी वितरण गरेको हो ।

कार्यक्रममा काभ्या अप्टिकल्स काठमाडौं–१४, कुलेश्वरको प्राविधिक सहयोगमा आँखा शिविरसमेत भएको छ । नेत्र चिकित्सक मोनिका मण्डल र नेत्र सहायक कुमारप्रसाद मैनालीले आँखा जाँच गरेका थिए । शिविरमा ७३ जनाको आँखा जाँच गरिएकोमा ५२ जनालाई चश्मा र ४० जनालाई औषधीसमेत निशुल्क उपलब्ध गराइएको छ ।

सो अवसरमा संसारीदेवी स्कुलको स्थापना, भौतिक, शैक्षिक तथा आर्थिक विकासका लागि योगदान गर्ने ३० जनालाई सम्मान गरियो । २०५३ सालमा स्थापना भएको यो विद्यालयमा अहिले १३ शिक्षक कार्यरत छन् ।

कार्यक्रममा लायन्स क्लब ३२५ एमका डिस्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले लायन्स क्लब संसारको सबैभन्दा ठूलो सामाजिक संस्था भएकाले समाजका समस्या र सरोकारमा पनि सहकार्य गर्दै आएको बताए । स्वयंसेवी भएर लायन्स क्लबले काम गर्दै आएको र मानवसेवाको विशेष महत्व हुने बताए । सो अवसरमा गर्भनर अर्यालले विद्यालयलाई व्यक्तिगत रुपमा एक कम्प्युटर प्रदान गरेका छन् ।

कार्यक्रममा लायन्स क्लब ३२५ एमका भाइस गर्भनर रत्नप्रसाद पराजुली, रिजन चेयर पर्सनद्वय दुर्गा थापा केसी र दीपक आचार्य, संसारीदेवीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर चिमौरिया, प्रधानाध्यापक गोविन्दबहादुर चिमौरिया, लायन्स ग्लोबल टाउनका अध्यक्ष साधुराम लम्साल, लायन्स विभूति सेन्चुरी अध्यक्ष हरिहर कार्की, कमल चिमौरिया लगायतले बोलेका थिए ।

आयोजक लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारकी अध्यक्ष उमा चिमौरियाले अरु लायन्स क्लबहरुसँग समेत सहकार्य गरी स्थानीय स्तरमै सेवा दिन आँखा शिविरसहितका कार्यक्रम गरिएको जनाइन् । ‘आँखा शिविर यही भइदिए सामान्य जाच्न काठमाडौं पुग्नुपर्दैन,’ उनले भनिन्, ‘सँगसँगै यो विद्यालयको स्थापना र विकासमा योगदान गर्ने महानुभावहरुलाई सम्मान र अरु मनकारीबाट थप सहयोगसमेत आज जुटेको छ ।’

कार्यक्रमका लागि लायन्स क्लबहरु अटल पिंगलास्थान, बाइसधारा, बुद्धल्यान्ड चौतारा, देउराली बुद्धल्यान्ड, आरम्भ देउराली, विभूति सेन्चुरी, ग्लोबल फ्रेन्डसिप, ग्लोबल टाउन, लुम्बिनी, साझा अनुगमन र ग्लोबल ह्यान्ड्सले सहकार्य गरेका थिए । लायन्स क्लबहरुको सहयोगका अतिरिक्त दीपेन्द्र चिमौरियाले अतिरिक्त किताब र खेल सामग्रीहरु, सुहाना ह्यान्डिक्राफ्टका सञ्चालक हरिशरण भट्टले पेन्सिल केस र बनेपाका श्रीधर पराजुलीले आर्थिक सहयोग गरेका छन् ।