पृथ्वीचोकमा ट्रकको ठक्करले माओवादी नेता कँडेलको मृत्यु

पोखरा महानगरपालिका वडा नम्बर ९, पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ ।

दिउँसो साढे १२ बजेतिर ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नजिकैको गण्डकी मेडिकल कलेज लगिएकोमा केही समयपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

कँडेल नेकपा (माओवादी केन्द्र) पोखरा १४ का पूर्वअध्यक्ष तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला सचिव हुन् ।

ट्रक चालक नुवाकोटको बेलकोट नगरपालिका वडा नम्बर ५ का वर्ष ३५ प्रकाश अधिकारी, स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेल र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुस्मिता मृतक शिवराजकी छोरी हुन् । सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको छ ।