आलु महोत्सव २४ गतेबाट, आलु किलोको ४२ रुपैयाँ

आइतबारदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदै छ । महोत्सवको तयारी सकिएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्षसमेत रहेका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने नाराका साथ हुने महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान आदि छन् ।

कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि हुनेछ ।

महोत्सव प्रवेशका लागि साधारणले ८० र विद्यार्थीका लागि ५० रुपैयाँ तिर्नुपर्छ । २ सयमा महोत्सव अवधिभरका लागि स्थानीय पासको बन्दोबस्तसमेत मिलाइएको । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोबार हुने मूल आयोजक समितिका महासचिव हिम्मत थापाले जानकारी दिए ।

२०७८ को जनगणना अनुसार हेमजामा ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस छन् । यहाँको १३ हजार ५ सय हेक्टर जमिनमध्ये ५ सय ५० हेक्टरमा आलु खेती छ ।

त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्ने गरेका छन् । त्यहाँ प्रतिरोपनी आलुको औसत उत्पादन लागत १८ हजार ५ सय ५७ रहेकोमा औसत उत्पादन ७ सय ५ केजी प्रतिरोपनी छ । महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।