मुक्तककार सरु लामिछानेको पहिलो मुक्तक संग्रह भिरको फूल शनिबार विमोचन गरिएको छ । मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ र कृतिकार लामिछानेले सो कृति सार्वजनिक गरेका हुन् ।
मुक्तक मञ्चले प्रकाशन गरेको कृतिमा १ सय ४१ मुक्तक संगृहित छन् । कार्यक्रममा साहित्यकार सरुभक्तले नेपालमा मुक्तक र पोखरा एकअर्कामा पर्यायवाची भएको बताए ।
उनले पछिल्लो समय मुक्तककारहरुले देश, समाज र जीवनका अनेक आयामलाई सशक्त ढङ्गले अभिव्यक्त गरेकाले मुक्तक लोकप्रिय हुँदै गएको उल्लेख गरे । सरुभक्तले लामिछानेका मुक्तकका समयको आवाज प्रतिबिम्बित रहेको जनाए ।
उनले भने, “कतै आशा, कतै निराशा, कतै सङ्गति, कतै विसङ्गति, कतै प्रेम, कतै व्यङ्ग्य, जीवन र समाजका कोलाज चित्रहरु उनका मुक्तकमा अभिव्यञ्जित छन् ।”
मुक्तककार लामिछानेले दोस्रो जनआन्दोलनपछि मुक्तक लेखन सुरु गरी विभिन्न मञ्चमा वाचन, रेडियो कार्यक्रम, मुक्तकका संस्था हुँदै यहाँसम्म आइपुगेको उल्लेख गरिन् । मान्छेको घर, मन्दिरसम्म आउन भिरको फूलले गरेको सङ्घर्ष जस्तै परिवेश आफ्ना मुक्तकहरुमा रहेको उनको भनाइ छ ।
लोक गायिका कोइरालाले नेपाली साहित्य विधामा मुक्तक लोकप्रिय बन्दै गएको टिप्पणी गरिन् । उनले महिलालाई वर्तमान सामाजिक बन्धनलाई तोडेर कृति सिर्जना गर्न चुनौतीपूर्ण रहेको बताइन् ।
कवि श्रेष्ठले कविता र मुक्तकले कृतिकारको बाँकी जीवनलाई अगुवाई गर्ने उल्लेख गरे । लेखक लामिछानेले हेर्न सकिने र सुगन्ध लिन नसकिने भिरको फूल कसैले टिप्न नसक्ने बताइन् । उनले कृति प्रकाशन गर्दासमेत अझै पनि गहन रुपमा लेख्न नसकेको अनुभुत भएको सुनाइन् ।
कार्यक्रममा साहित्यकार शिव संकल्प र लक्ष्मी थापाले मुक्तक संग्रहको समीक्षा गरे । अनिता दाहाल, केआर ढकाल, भरतराज पौडेल, सञ्जय न्यौपाने ‘प्राञ्जल’ले मुक्तक संग्रहबाट रोज्जा रचना वाचन गरे ।
कार्यक्रममा मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्ष अम्बिका भण्डारी, निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्य, पूर्वअध्यक्ष कृष्ण देवकोटा, सदस्यहरु श्रद्धा आचार्य, सुष्मा अधिकारी लगायतले मुक्तकका विविध पक्षबारे बोलेका थिए ।




