रवि सर्वाेच्च जान पाउँछन् कि जेल जानै पर्छ ?

सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश गरेको छ।

आदेशसँगै उनी थुनामा बस्नुपर्ने भएको छ ।कानुनविद्हरूका अनुसार उच्चको आदेशविरुद्ध उनी सर्वाेच्च जान पाउँछन्, तर त्यसका लागि थुनामा बस्नुपर्ने हुन्छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना मुद्दामा लामिछानेलाई प्रहरीले प्रतिवादी बनाएको थियो । सो मुद्दामा जिल्ला अदालत, रुपन्देहीले उनीसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । त्यसविरुद्ध लामिछाने र सरकारी वकिल दुवै उच्च अदालत पुगेका थिए।

जिल्ला अदालत काठमाडौं, चितवन र कास्कीले उनलाई धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि उच्चमा सुनुवाइ विचाराधीन छ । 

 उच्च अदालतको आदेशसँगै रास्वपाले शनिबारदेखि सुरु गर्न लागेको जनयात्रा अभियान पनि प्रभावित हुने भएको छ। लामिछानेले चितवनबाट अभियान सुरु गर्न लागेका थिए। पक्राउ परेपछि उनी यही सातादेखि मात्र पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए।