पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्दै डिस्ट्रिक्ट ३२५ एम

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप २०८२ हुने भएको छ ।

काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरामा भलिबल च्याम्पियनसिप हुने जानकारी दिइएको हो । संस्थाको स्थापना अन्तरराष्ट्रिय स्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्धन गर्ने उद्देश्यले भलिबल च्याम्पियनसिप आयोजना गर्न लागिएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताए ।

खेलहरू पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा हुने छन् । उहाँले लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा भलिबल खेलको प्रवर्धन गर्नु र युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु च्याम्पियनसिपको प्रमुख उद्देश्य रहेको सुनाए ।

लिग कम नकआउट फम्र्याटमा प्रतियोगिता हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्धन गर्दै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न प्रतियोगिता आयोजना गरिएको हो ।

“लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्धन गर्नु, युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु, पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने र खेलकुदमार्फत अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्य लिइएको छ”, उनले भने ।

च्याम्पियनसिपमा ६ टिमको सहभागिता पक्का भएको छ । पाकिस्तान भलिबल क्लब इस्लामावाद, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँग सम्झौता भइसकेको तथा भारत र इरानको टिमसँग सरसल्लाह भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ४ लाख ४४ हजार ४४४, द्वितीय पुरस्कार २ लाख ४४ हजार ४४४ र तृतीय पुरस्कार १ लाख ४४ हजार ४४४ नगद, ट्रफी मेडल र प्रमाणपत्र छ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ नगद, मेडल र प्रमाणपत्रर विधागत पुरस्कारतर्फ जनही ८ हजार ४४४ प्रदान गरिनेछ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एममा दुई हजार पाँच सय लायन्स सदस्य छन् ।