राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एक जनाको मृत्यु भएको छ । राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एक व्यक्तिले ज्यान गुमाएका हुन् ।
यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यान हुन् ।
प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन । जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो ।
अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो ।






