
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरा रंगशालामा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल निर्माण सम्पन्न भएको लामो समय पछि अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले लायन्स अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र नेपालमा ५३ औं वर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगितामा आयोजना गर्न लागिएको बताए । उनका अनुसार सो प्रतियोगितामा विदेशीसहित कुल ६ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने छ भने इरान र भारतको टिमसँग समन्वय भइरहेको अर्यालले जानकारी दिए ।
“अहिलेसम्म पाकिस्तान र नेपालको गरी ५ वटा टिमको सहभागिता पक्का भइसकेको छ । बाँकी १ टिमका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै फाइनल हुन्छ”, उनले भने ।
प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ ।
यस्तै, उपविजेताले नगद २ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । भने, सान्त्वना स्थान गर्ने समूहले नगद १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफीद्वारा पुरस्कृत हुनेछ । त्यस्तै विधागततर्फ समेत पुरस्कार राशीको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क ३ सय रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्धन गर्दै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न प्रतियोगिता आयोजना गरिएको हो । डिस्ट्रिक्ट गभर्नर अर्याल भन्छन्, ‘यसले खेलमार्फत् भाइचारा अभिवृद्धि गर्न र युवालाई खेलमा जोड्न पनि सघाउँछ ।’
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एममा एक सय १४ क्लब आवद्ध छन् । ती क्लबमार्फत् यो डिस्ट्रिक्टमा दुई हजार पाँच सय लायन्स सदस्य छन् ।