ग्लोबल मनी विकमा महिला लघुवित्तको वित्तीय साक्षरता

पोखरा ३३ आँपुभन्ज्याङ स्थित कालिका माविमा सोमबार वित्तीय साक्षरता कार्यक्रम भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकको सहभागिता थियो । पौडेलले विद्यार्थी कालदेखि नै बचत गर्ने बानी बसाल्नुपर्ने बताए । उनले बालबालिकामार्फत अभिभावकलाई समेत बचत गरी आर्थिक व्यवस्थापन गर्ने बानी बसाल्न सकिने भन्दै आम्दानी गर्नुभन्दा बचत गर्नु ठूलो कुरा भएको उल्लेख गरे ।

आधिकारिक र विश्वसनीय निकायमा रकम बचत गर्नेतर्फ पौडेलले ध्यानाकर्षण गराए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले आर्थिक मन्दीले समग्र अर्थतन्त्र नै धराशायी भएको परिस्थितिमा विद्यार्थी र शिक्षकलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण गर्नु आवश्यक भएको औँल्याए । विद्यालयले समय सन्दर्भ अनुसार शिक्षक तथा विद्यार्थीका लागि तालिम, अभिमुखीकरणलगायतका कार्यक्रम गर्दै आएको उनले बताए ।

नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको ग्लोबल मनी विक २०२५ अन्तर्गत पहिलो दिनको कार्यक्रममा कालिकामा गरिएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा शाखाका प्रमुख करणकुमार सिङ्तानले जानकारी दिए । उनले यससम्बन्धी कार्यक्रममा निरन्त गरिने जानकारी दिए । राष्ट्र बैंकले मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल मनी विक मनाउने घोषणा गरेको छ ।

कार्यक्रममा पोखरा शाखाका मोहनराज विष्ट, निराजन बडु, पिप्ले शाखा प्रमुख सन्दीप शर्मा लगायतले वित्तीय साक्षरताको महŒवबारे प्रकाश पारेका थिए । महिला लघुवित्त वित्तीय संस्थाका नेपालका ३८ जिल्लामा ७७ शाखा सञ्चालनमा रहेको केन्द्रीय कार्यालयकी सामान्य सेवा विभागकी प्रमुख ममिला पौडेलले जानकारी दिइन् ।

सोही अवसरमा संस्थाका तर्फबाट गण्डकी प्रदेश प्रमुख रमेशचन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेका थिए ।