
पोखरा १७ महतगौडामा रहेको जानकी माध्यामिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । धार्मिक क्षेत्रको आम्दानीबाट समितिले विद्यालयलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।
चैतक ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विद्यालयमा आयोजित स्थानीय संघ, संस्था, सल्लाहकार सहितको बैठकमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङलाई हस्तान्तरण गरे ।
मन्दिर व्यवस्थापन समितिले गत माघे संक्रान्ति ढुंगेसाँघु मेलाका अवसरमा भएको आम्दानीबाट केही रकम विद्यालयलाई सहयोग गरेको हो । अध्यक्ष भण्डारीले मेलामा भएको आम्दानीबाट सँगै रहेको विद्यालयका गतिविधिलाई सघाउन सहयोग गरिएको बताए ।
मन्दिरले व्यापार व्यवस्थापन र भक्तजनबाट गरी ४ लाखभन्दा बढी आम्दानी गरेको थियो । सामुदायिक विद्यालय भौतिकरुपमा सम्पन्न भए पनि प्रशासनिक एवं आन्तरिक खर्च व्यवस्थापन विभिन्न संघ, संस्था तथा शिक्षाप्रेमी व्यक्तिहरुको सहयोग महत्वपूर्ण रहँदै आएको प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । ४ सामुदायिक र ६ संस्थागत गरी १० स्कुलको एसइई परीक्षा केन्द्र यहाँ छ ।