पोखरा १७ को टपरी गास्ने र धूपबत्ति बाट्ने प्रतियोगिता

पोखरा महानगरपालिका वडा नं १७ ले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा टपरी गास्ने तथा धूप वत्ति बाट्ने प्रतियोगिता आयोजना गरेको छ ।

टपरी गास्ने प्रतियोगितामा छिमेकी आमा समूह प्रथम हुँदै १० हजार रुपैयाँ नगद पाउँदा जनजागर आमा समूह द्वितीय हुँदै सात हजार पायो । लगनशील आमा समूह तृतीय हुँदै पाँच हजार, संकल्प आमा समूहले सान्त्वना स्थान हासिल गर्दै तीन हजार जिते ।

धूपवत्ति बाट्ने प्रतियोगितामा शितलपथ आमा समूह प्रथम हुँदै १० हजार, ड्यामसाइड टोल विकास आमा समूह द्वितीय हुँदै सात हजार, छिमेकी आमा समूह तृतीय हुँदै पाँच हजार र श्रीराम जानकी शान्तिपथ आमा समूहले सान्त्वना स्थान हासिल गर्दै तीन हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई आत्मनिर्भर र स्वाभलम्वी बनाउन यस्ता प्रतियोगिताले सघाउने उल्लेख गरिन् । उनले महिलाहरु चुलो र चौकामा मात्र सीमित नबनी क्षमता विकास गर्दै आयआर्जनमा जोडिनुपर्ने विचार राखिन् ।

वडाध्यक्ष राधिका शाही योगीले वडा कार्यालयले महिलालाई उद्यम, व्यवसायसँग जोड्न योजनावद्ध प्रयास गरिरहेको जनाइन् । उनले स्वरोजगार, उद्यमी, सशक्त बन्दै महिलालाई विकास र समृद्धिको मूल प्रवाहमा ल्याउनुपर्ने विचार राखिन् ।

कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, कार्यक्रम संयोजक एवं वडा सदस्य विष्णुकुमारी थापा भुजेल, वडा सदस्य विक्रम गुरुङ, वडासचिव सुरेन्द्र शर्मा, शितलपथ आमा समूहका अध्यक्ष सुमित्रा लम्साल, छिमेकी आमा समूहका अनिता पनेरु, कर्मचारी तिर्सना बराल लगायतले बोलेका थिए ।