पोखरा महानगरका नगर प्रमुख धनराज आचार्य अहिले आइसोलेसनमा छन् । फागुन ३ गते पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा घाइते बनेका आचार्य चिकित्सकको सल्लाहमा आइसोलेसनमा बसेका हुन् ।
बिहीबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका उनले यो अवधिमा भेटघाट र बोलचाल नगर्न चिकित्सकले सुझाएको जनाएका छन् । फेसबुकमा उनले लेखका छन्, “म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छ । डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन ।”
बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार दैनिक हाजिरी गर्ने शर्तमा बिहीबार हिरासत मुक्त बेनका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको थियो ।
३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका लागि ल्याइएको बेलुन कमलेशले नै बेचेका थिए । त्यही दिन पक्राउ पर्नु भएका कमलेश हिरासत मुक्त भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।
हाइड्रोजन ग्याँस भरिएका ती बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए । घटनाको छानबिन गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।




