नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले सम्पूर्ण शास्त्रको उद्भव उमा र महेश्वरबाट भएको बताएका छन् । उनले कलियुगमा देवीदेवता सबै नेपालका हिमालमा बस्दै आएको समेत जनाए ।
नेपाल ज्योतिष परिषद् कास्कीद्वारा पूर्वीय वाङ्मय शास्त्रार्थको नियमित नवौं शृङ्खलामा उनले सो कुरा बताएका हुन् ।
‘नेपाल भनेको हिमालयको देश हो । नेपाल र हिमाल पर्यायवाची हुन् । नेपालको प्रमाणिक समय गौरीशंकर हिमाल हो । गौरीशंकर हिमालमा बसेर भगवान् शिवले शास्त्रलाई निर्देशित गर्नुभएको छ । हामी नेपालीहरु अहिले आफ्नो मौलिक अनुसन्धानलाई मान्न तयार छैनौं,’ उनले भने, ‘वेदव्यास भगवान् हुन्, दक्षिणमूर्ति गुरू हुन् । भूगोल पढ्नेहरुलाई पनि अहिले अन्नपूर्ण कहाँ छ भन्ने थाहा छैन ।’
उनले अगाडि भने, ‘शिवको ६ वटा मुखबाट तन्त्रशास्त्रको विकास भएको हो । शैवतन्त्र अगाडि, बौद्धतन्त्र पछाडि आउँछ । ओम् भनेको वैदिक बीज हो । अहिले साधना गरिएन भने पूर्वजन्मको फल प्राप्त हुँदैन।’ उनले पर्वतको पाङ र कास्कीको अर्थों ज्योतिषको लागि प्रख्यात ठाउँ भएको जनाए ।
उनले भने, ‘मधेशमा दाङ र पहाडमा पाङ भन्ने कथन प्रचलित छ । गण्डकी प्रदेशमा ठाउँ-ठाउँमा ज्योतिषी जन्मेका छन् । सिद्धिको लागि खानपिन शुद्ध हुन जरुरी छ । ज्योतिष कार्यमा लाग्न शिवपार्वतीको साधना गर्नुपर्छ। आफू ज्योतिष, तान्त्रिक आचार्य होइन, म एउटा जिज्ञासु मात्र हो ।’
नेपाल ज्योतिष परिषद् केन्द्रीय उपाध्यक्ष ज्यो. लीलाराज शर्माले आफू गण्डकी प्रदेश कटुवाल भएर आएको बताए । ‘हाम्रो जीवन भनेको कलम हो, हामीले जस्तो मसी हाल्छौं त्यस्तै लेख्छ । सामाजिक कार्यको सुरुवात सबैले आफैँले गर्नुपर्छ,’ उनले भने ।
सभाको अध्यक्षको आसनबाट नेपाल ज्योतिष परिषद् कास्कीका अध्यक्ष ज्यो. रामजीप्रसाद आचार्यले नेपालको मौलिक संस्कृति ज्योतिषतन्त्र शास्त्रको विषयमा जगमान गुरुङले प्रशिक्षित गर्ने बताए । भजन गाउने प्रशिक्षण दिने, पुस्तकालय बनाउने सोचमा नेपाल ज्योतिष परिषद् कास्की रहेको उनले जानकारी दिए । उनले सो अवसरमा विभिन्न नाममा अक्षयकोष स्थापना गरिएको र हरेक वर्ष उत्कृष्ट वैदिक साहित्यिक पुस्तकलाई अक्षयकोषबाट पुरस्कृत गरिने बताए ।
परिषद्ले हरेक महिनाको पहिलो बुधबार शास्त्रार्थको नियमित शृङ्खला गर्दै आएको छ । कार्यक्रम सञ्चालन परिषद् कास्की सचिव ज्यो. गौरव ढुंगानाले गरेका थिए ।




