हाइड्रोजन बेलुनलाई हेलचेक्र्याई गर्दा मन्त्री र मेयर घाइते

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुन पड्किँदा शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते बने । हेलिकोप्टरमा राजधानी लगेर उनीहरुको सघन उपचार कक्षमा उपचार जारी छ ।

खासमा सामान्य बेलुन पड्किएर उनीहरु घाइते भएका होइनन् । हाइड्रोजन बेलुन पड्किँदा कार्यक्रमका प्रमुख अतिथि पौडेल र अध्यक्षता गरेका मेयर आचार्य घाइते बनेका हुन् । हाइड्रोजन अत्यन्त प्रज्ज्वलनशील पदार्थ हो । हावाभन्दा निकै हल्का हुने भएकाले बेलुन उडाउन यसको प्रयोग हुन्छ ।

अत्यधिक ऊर्जा उत्सर्जन गर्ने क्षमताका कारण यसमा विस्फोटक गुण पनि बढी नै हुन्छ । सानो झिल्काले पनि यसमा आगो लाग्न सक्छ । अचेल जन्मदिन र ससाना कार्यक्रममा पनि बेलुन पड्काउने, आतिसबाजी गर्ने गरिएको देखिन्छ । त्यस्ता कार्यक्रममा पनि यस्तै दुर्घटना हुन सक्छ । अझ, गल्ली गल्लीमा बेलुन बोकेर बच्चालाई बेच्ने हर्कत झनै घातक हुन सक्छ ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा भएको घटनाबारे नेपाल प्रहरीले अनुसन्धान थालेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया घटनाको अनुसन्धान सुरु गरेको बताउँछन् । विपद्विज्ञ र रसायनशास्त्रीहरु भने आयोजकले आवश्यक पूर्वसावधानी र होसियारी नपनाउँदा घटना भएको बताउँछन् ।

तल आगो बालेर माथि हाइड्रोजन बेलुन राख्दा दुर्घटना हुने नै भयो । बेलुनबाट घाइते बनेका उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यको कीर्तिपुर हस्पिटलमा उपचार जारी छ ।
उपप्रधानमन्त्री पौडेलको हात र अनुहारमा चोट छ भने नगर प्रमुख आचार्यको देखिने गाला र टाउकोको केही भाग जलेको छ । अस्पतालले उनीहरुको शरीरका ५÷६ प्रतिशत जलेको जनाएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।