
पोखराको वाराहीघाटमा आयोजन गर्न लागिएको कोटीहोम नरोक्न उच्च अदालत पोखराले आदेश दिएको छ । मानव सेवा फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म गर्न लागेको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा, अवरोध नगर्न उच्चका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले बिहीबार आदेश दिएको हो ।
उच्चले पोखरा महानगरलाई १५ दिनभित्र रोक्नुको कारणसहित उपस्थित हुनसमेत भनेको छ । उच्चले कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न निर्देशन दिएको छ ।
फाउन्डेसनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी धर्मगुरु विजय कृष्णमुर्तिले तोकिएकै समय र स्थानमा कोटीहोम गर्ने उल्लेख गरेका थिए । उनले धर्मका लागि अधर्म गर्नसमेत तयार रहेको भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए ।
कोटीहोमका लागि पोखरा महानगरले अहिलेसम्म अनुमति दिएको छैन । यसअघि फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो ।
नेपाल ट्रष्टसँग फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि बाराहीघाट छेउको जग्गा भाडामा लिएको छ । सो स्थानका लागि ११ लाख ५९ हजार रुपैयाँ भाडा बुझाएको छ ।