
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रथम गण्डकी प्रदेश अधिवेशनले कृष्ण नेपालीको अध्यक्षतामा सर्वसम्मत नयाँ प्रदेश कमिटी चुनेको छ । शनिबार सुरु भएको अधिवेशनबाट नेपालीको अध्यक्षतामा एक सय ३५ सदस्यीय कमिटी चुनिएको हो ।
गण्डकी प्रदेश कमिटी एक सय ४३ सदस्यीय हुनेमा आठ सदस्य पछि थप गरिने अध्यक्ष मण्डलका सदस्यसमेत रहनुभएका एकीकृत समाजवादी सचिव श्रीनाथ बरालले जानकारी दिनुभयो । गण्डकी उपाध्यक्षद्वयमा मुक्ति पौडेल (कास्की) र विष्णु गिरी (स्याङ्जा), सचिवमा ठाकुर शर्मा पौडेल (पर्वत) र उपसचिवत्रयमा विवेक भुजेल (कास्की), टीकाराम पौडेल (नवलपुर) र शुष्मा पौडेल (नवलपुर) हुनुहुन्छ ।
शनिबार र आइतबारलाई तय भएको प्रदेश अधिवेशन एक दिन लम्बिएर सोमबार सकिएको हो । नवनिर्वाचित कमिटीलाई अध्यक्ष मण्डलका अध्यक्षसमेत रहनुभएका एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सपथ गराउनुभएको छ । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट चार सय ५० प्रतिनिधिसहित स्वयंसेवक र आयोजक गरी छ सय जना सहभागी थिए ।