धर्मका लागि अधर्म गर्न पनि तयार छुः कृष्णमूर्ति

मानव सेवा फाउन्डेसनले पोखरामा विराट ज्ञान महायज्ञ तथा कोटीहोम गरेरै छाड्ने जनाएको छ । फाउन्डेसनले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु विजय कृष्णमुर्तिले तोकिएकै समय र स्थानमा कोटीहोम गर्ने उल्लेख गर्नुभयो ।

कोटीहोमका लागि पोखरा महानगरले अनुमति दिएको छैन । फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले चार दिनअघि ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो । महानगरले अनुमति नदिए पनि कोटीहोम गरेरै छाड्ने कृष्णमूर्तिले दोहो¥याउनुभयो ।

उहाँले भन्नुभयो, “अब कोटीहोम नगरी यहाँबाट कुनै हालतमा पनि फर्किन्न । जस्तोसुकै परिस्थिति आएपनि यो यज्ञ रोकिनेवाला छैन । जुन ठाउँ र मितिमा यज्ञ गरिने तय भएको छ, त्यसमा कुनै तलमाथि हुने छैन ।” देशविदेशबाट शन्त, महन्तहरु आउने तयार भइसकेको दाबी गर्दै उहाँले बल प्रयोग गर्न पनि तयार भएको अभिव्यक्ति दिनुभएको छ ।

“यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौँ । धर्मका लागि अधर्म पनि गर्न पर्छ भने विजय कृष्णमूर्ति तयार छ,” उहाँले भन्नुभयो । रुख काटेर विवादित बनेको फाउन्डेसनको कोटीहोमबारे फेरि आलोचना सुरु भएको छ ।

नेपाल ट्रष्टसँग फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि बाराहीघाट छेउको जग्गा भाडामा लिएको छ । फाउन्डेसनले सो स्थानका लागि ११ लाख ५९ हजार रुपैयाँ भाडा बुझाएको छ । महानगरसँग अनुमतिका लागि बारम्बार प्रयास गरे पनि महानगर प्रमुखले उपेक्षा गरेको धर्मगुरु कृष्णमूर्तिको भनाइ छ ।

यता, पोखरा महानगरपालिकाले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको प्रष्ट पारेको छ । नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णयसमेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

गैरकानुनी रूपमा रुख काटेर पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पु¥याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई समेत पत्र पठाउने महानगरको निर्णय छ ।

नगर प्रमुख आचार्यले भन्नुभयो, “पोखरा फागुनमै दुईटा महायज्ञ हुँदै छन् । कोटिहोम चाहिँ पोखरामा हुँदैन । हाम्रो अनुमति पनि लिएको छैन, स्थानीय प्रशासनबाट पनि, महानगरबाट पनि कहींबाट पनि उहाँले अनुमति लिनुभा’को छैन ।” मुख्य पर्यटकीय क्षेत्र छेउमा महिनौंसम्म वायु प्रदूषण गर्ने महायज्ञलाई अनुमति दिन नसकिने उहाँको भनाइ छ ।