३ नाटककार सम्मानित, नाट्यविमर्श सार्वजनिक

नाट्य सम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्तीको पोखरामा भव्य रुपमा मनाइएको छ । नेपाल नाट्य प्रतिष्ठान पोखराले तीन रंगकर्मीलाई सम्मान र ‘नेपाली नाट्यविमर्श’ सार्वजनिक गरी सम जयन्ती मनाएको हो ।

शनिबार भएको समारहेमा नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने रंगकर्मीत्रय सरुभक्त, खगराज आचार्य र कृष्ण उदासीलाई सम्मान गरियो । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले हाम्रो संस्कृति र प्रकृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हाम्रो धर्म, संस्कृतिमा कतै न कतैबाट प्रहार भइरहेको छ । हामी यिनै गलत कुराहरूमा रमाइरहेका छौं । यसलाई बदल्नुपर्छ ।’

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आधुनिक समयका युवा पुस्तालाई नाटक विधामा संलग्न गराउन गराउनुपर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले नाटककार पहलमानसिंह स्वाँरको स्मृतिमा अन्तर्राष्ट्रिय नाट्य सेमिनार गर्न पहल गर्ने जनाए ।
कार्यक्रममा प्राडा रामनाथ ओझाले ‘नेपाली नाट्य विमर्श’को समीक्षा गरे । उनले भारतीय र नेपालका नेपालीभाषी नाटककार र नाटकबारे यो कृति अहिलेसम्मकै विषद् र उल्लेखनीय प्राप्ति भएको बताए ।

डा देवी क्षत्री दुलालले सरुभक्तको नाट्यकारिताबारे प्रकाश पारे । उनले भने, ‘महाकाव्यबाहेक सबै विधामा कलम चलाउनुभएका सरुभक्त मुलतः प्रयोगधर्मी नाटककार हुनुहुन्छ ।’ समालोचक डा. नारायणप्रसाद पन्थले समको नाट्यचेतनाबारे प्रकाश पारे । काव्यकार माधव वियोगीले खगराज शर्माले नेपाली लोकनाटकको क्षेत्रमा गरेको योनदानबारे चर्चा गरे ।

रंगकर्मी लक्ष्मण तिमिल्सिनाले नाटककार कृष्ण उदासीको योगदानबारे चर्चा गरेका थिए । उनले भने, ‘पोखरेली नाटकको उत्थान र रंगकर्मीहरु तयार गर्न भूमिका निर्वाह गरे पनि उदासी आफ्नै सिर्जनात्मक जीवन व्यवस्थित गर्न नसक्दा छाँयामा परेका छन् ।’

कार्यक्रममा नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले बालकृष्ण सम व्यक्तिमात्र नभएर कला तथा साहित्यको मूर्धन्य पात्र भएको उल्लेख गरे । उनले समका सबै कृति नाट्यप्रतिष्ठानले छाप्ने प्रतिबद्धतासमेत जनाए । प्राडा पोखरेल ‘नेपाली नाट्य विमर्श’का प्रधानसम्पादक हुन् ।

प्रतिष्ठानले प्रकाशन गरेको कृतिको मूल्य १ हजार ६ सय छ ।कार्यक्रममा प्रतिष्ठानका महासचिव सुन्दर मानन्धर र सचिव राजेशकुमार घिमिरेले पनि बोलेका थिए ।